नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । दाङ, बबई गाउँपालिका-४ ठाटिखोला बस्ने २४ वर्षीय तेजलाल खत्री शान्तिनगर गाउँपालिका-१ स्थित बान्द्रेखोला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले घटनास्थलबाट भरूवा बन्दुक १ थान, झोला १ थान, सोही झोलाभित्र गोली ७ थान, केप १८ थान, २ बट्टा बारूद, सलाईको बट्टा १ थान र मोबाइल १ थान बरामद गरेको छ । घटनाका सम्बन्धमा आवश्यक सोधपुछको लागि २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै तनहुँ, भानु नगरपालिका-७ भदौरेस्थित गोरेटो बाटोमा सोही नगरपालिका-९ बडहरे बस्ने ६२ वर्षीय कृष्ण बहादुर थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै गोरखा, गण्डकी गाउँपालिका-८ तरौदीस्थित त्रिशुली नदीको किनारमा तनहुँ ब्यास नगरपालिका-५ बस्ने ३२ वर्षीय गोबिन्द बोटे शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गोरखा, पालुङटार नगरपालिका-७ सतिघाटस्थित मर्स्याङ्दी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । उता धादिङ, थाक्रे गाउँपालिका-९ सिमपानीस्थित सिमपानी सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६२ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।