नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ फागुन ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । झापा, शिवसताक्षी नगरपालिका-८ सम्झना चोकमा मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साइकललाई ठक्कर दिई आइतबार साँझ दुर्घटना हुँदा साइकलमा सवार शिवसताक्षी नगरपालिका-८ बस्ने ३१ वर्षीय दिलिप श्रेष्ठको छोरी ९ वर्षीया शितल श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दिलिप श्रेष्ठ, उनकै छोरी ११ वर्षीया गोमा श्रेष्ठ र अटो चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै तनहुँ, आबुँखैरेनी गाउँपालिका-१ गिराउनचौरस्थित सडकमा मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरेको बा.१८ च ५९२१ नम्बरको बलेरो जिप सडकबाट करिब ५ सय मिटर तल खसेर गएराति दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा आबुँखैरेनी गाउँपालिका-६ छापस्वारा बस्ने ७२ वर्षीय आसबिर गुरूङको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएका ब्यास नगरपालिका-९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरूङको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको आबुँखैरेनी अस्पतालमा र १० जनाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
यस्तै पाल्पा, माथागढी गाउँपालिका-५ आर्थोकघाटस्थित सडकमा लु.२ ख ५६१ नम्बरको टिपर सोमबार बिहान दुर्घटना हुँदा चालक रूपन्देही तिलोत्तमा नगरपालिका-१६ पिउलिहवा बस्ने २४ वर्षीय प्रदिप कुमाल र सह-चालक सोही ठाउँ बस्ने १८ वर्षीय मनिश परियारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।