थापाथलीबाट चोरिएको बच्चा काँडाघारीमा फेला, तीन जना पक्राउ 

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) काँडाघारीमा फेला परेको छ । उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

त्यस्तै बच्चा चोरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित उनकी दिदी र श्रीमान रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रबार राति ११:४५ बजे  काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो ।



काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार