आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा बर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का बर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



यस्तै आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार