नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । चितवन, राप्ती नगरपालिका-५ खहरेपुलस्थित सडकमा बा.प्र.०३-००१ क ०८९२ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ बस्ने ४५ वर्षीय बिष्णुभक्त श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-१७ तेतरियामा म.प्र.०२-०२-००१ ह २९२३ नम्बरको अटो रिक्साको ठक्करबाट साइकलयात्री औरही गाउँपालिका-१ झिटकैया बस्ने ७४ वर्षीय गुलाश चन्द्र यादवको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-७ माच्छापुच्छ्रे चोकमा ना.४ ख ५८१५ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने बिक्रम पौडेलको छोरा १० वर्षीय आरूष पौडेलको सोमबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै झापा, झापा गाउँपालिका-४ मंगलवारेस्थित सडकमा मे.३ प ५९२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय शम्भु कार्कीको सोमबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बाँके, नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा लु.२ ख २१४२ नम्बरको बसले युपी ४० एजे ७२३३ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भारत उत्तर प्रदेश घर भएका २० वर्षीय अनिल कुमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा, मिथिला नगरपालिका-२ हजरा चोकस्थित सडकमा ज.४ प १९४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित होटल संचालन गरी बस्ने ४० वर्षीय चन्दन पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।