नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगा, मोलुङ गाउँपालिका-६ बस्ने ३७ वर्षीय मुगे भन्ने रुद्र बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई सोही ठाउँस्थित कार्तिके जंगलमा बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ, ब्यास नगरपालिका-११ चिसापानी नवआदर्स टोल बस्ने ५७ वर्षीय प्रेम बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सार्कीले ती बालिकालाई ललाई फकाई डरत्रास समेत देखाई सोही ठाउँस्थित जंगलको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।