शिवरात्रिको अवसरमा भारतीय पर्यटकहरूद्वारा जहाजमार्फत कैलाश–मानसरोवर दर्शन

महाशिवरात्रिको अवसरमा नेपालगन्जबाट भारतीय पर्यटकलाई जहाजमार्फत चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश–मानसरोवरको दर्शन गराइएको छ ।

नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रीप टू टेम्पल्स’सँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तीर्थयात्रीलाई कैलाश–मानसरोवरको दर्शन गराएको हो । माउण्टेन फ्लाइटमार्फत् कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ ।



कोभिडअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर जाने गरेका थिए । कोभिडपछि भारतीय पर्यटकलाई चीनले भिषा नदिएपछि अहिले यो रुट सुनसानजस्तै बनेको छ । यसको सिधा असर भने सो रुटमा रहेका पर्यटन व्यवसायमा परेको देखिन्छ ।

यसअघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगन्जबाट जहाजमा सिमीकोट गएर त्यहाँ एकरात बसेर सिमीकोटबाट हिल्सासम्म हेकिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्ने गर्दथे ।

मानसरोवरको रुटको चहलपहल कम भएपछि नेपालगन्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकहरूलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउण्टेन फ्लाइट सुरू गरिएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतम बताउँछन् ।

कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि यो नयाँ गन्तव्यको रुपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताउँछन् ।

भ्रमणपश्चात अनुभव सेयर गर्दै भारतको कर्नाटकबाट आएकी ३३ वर्षीया अरुणा यनले खुसी हुँदै भनिन्– ‘शिव पार्वतीको घर देख्ने बाल्यकालदेखिको सपना यस भ्रमणले पूरा गरिदिएको छ ।’

‘भिषा उपलब्ध भए पनि उमेरका कारण जान गाह्रो थियो । यसरी जहाजबाटै दर्शन गर्न पाउँदा अत्यन्तै खुशी छौँ’ नयाँ दिल्लीबाट आएका ६७ वर्षीय गोपाल सेठले खुसी सेयर गरे ।

भ्रमणका क्रममा दर्जनौं हिउँ चुचुरा पार गर्दै कैलाश पर्वत र मानसरोवरलाई नजिकबाट नियाल्न पाउँदा कोही खुशीले भावविह्वल हुँदै रोइरहेका थिए भने कोही चिच्याउँदै ‘हर हर महादेव’ भन्दै थिए ।

यसअगाडि पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउण्टेन फ्लाइटको सुरुवात गरेको थियो । भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनहरूमा पनि माउण्टेन फ्लाइटमार्फत कैलाश–मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान गराउने उद्देश्य रहेको ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक मिश्राले बताए ।

सम्बन्धित समाचार