नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । सुर्खेत, लेकवेशी नगरपालिका-७ पुलटार बस्ने ४१ वर्षीय बालकृष्ण खाम्चा सोही नगरपालिका-९ गँगाटे घागटेस्थित निर्माणाधीन घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका-५ घर भएका ३० वर्षीय अनिल पटेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनको घाँटीमा धारिलो हतियारले काटेको चोट देखिएको छ ।
यता ललितपुर, ललितपुर महानगरपालिका-१८ भैंसेपाटी शान्ति मार्ग बस्ने ३३ वर्षीय इश्वर गिरी सोही महानगरपालिका-२५ स्थित सल्लाघारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सल्यान, शारदा नगरपालिका-२ स्याला बस्ने २० वर्षीया भगवती बिष्टको १० महिनाको छोरा कृष्ण बस्नेत मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै पाँचथर, फाल्गुनन्द गाउँपालिका-५ गैरी खेत बस्ने २८ वर्षीय ज्ञानेन्द्र चेम्जोङ आफ्नै घर नजिकै रहेको पानी जमेको खाल्डोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उता धनुषा, जनकपुर उपमहानगरपालिका-१० स्थित अरगजा पोखरीको डिलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी धादिङ, ज्वालामुखी गाउँपालिका-४ बडडाडा बस्ने ३० वर्षीय रामशरण भुजेल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-३ स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका-४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उता चितवन, भरतपुर महानगरपालिका-३ बेलचोक डेरा गरी बस्ने नवलपरासी हुप्सेकोट गाउँपालिका-२ गुहेरी घर भएका २५ वर्षीय चुन बहादुर मस्र्याङ्गी मगर आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं महानगरपालिका-६ नयाँबस्ती बिपुल स्कुल चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै खोटाङ, साकेला गाउँपालिका-२ रतन्छा बस्ने २९ वर्षीय जामुन दर्जी सोही गाउँपालिका-४ स्थित मखुवा खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रूकुम पश्चिम, त्रिबेणी गाउँपालिका-१० बरानेटी बस्ने ६२ वर्षीय तेज बहादुर पुन सोही ठाउँस्थित जङ्गलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।