नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० फागुन ।
नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गरेका हुन् ।
राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो । त्यसअघि बुधबारै राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।