नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ चैत ।
देशका विभिन्न स्थानमा भएको आगलागीला कारण आगोले जलेर दुई जनाको मृत्यु भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-२३ हात्तीवनस्थित सिक्मा मेटल इन्ट्रक्स सोफा कारखानामा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरुषको सोही आगलागीमा जलेर मृत्यु भएको छ ।
साथै उक्त आगलागीबाट टहराभित्र रहेको सम्पूर्ण फर्निचरका सामानहरु जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पालधाप गाउँपालिका-८ बस्ने ६२ वर्षीया योग कुमारी धितालको आगोले जलेर मृत्यु भएको छ ।
शुक्रबार बिहान चुलोमा बालेको आगो धोतीमा सल्कीएर शरिर जलि गम्भीर घाइते भएकी उनको शनिबार बिहान सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।