नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । रूपन्देही, देवदह नगरपालिका-११ रेहेरास्थित बालाजी पेपर इन्डष्ट्रीजमा सेक्युरिटी गार्ड काम गर्ने सोही नगरपालिका-१ लक्ष्मीनगर बस्ने ४७ वर्षीय लक्ष्मण कुमार श्रेष्ठ सोही इन्डष्ट्रिजको शौचालयभित्र मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर १५ बस्ने ५० वर्षीया जसुता बटाला सोही नगरपालिका-२ स्थित खोटेना भुरा खानी सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै धादिङ, गल्छी गाउँपालिका-२ स्थित त्रिशुली नदीको किनारमा थाक्रे गाउँपालिका-३ बेशीलङुङ बस्ने ४१ वर्षीय कृष्णा अधिकारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
उता झापा, बुद्धशान्ति गाउँपालिका-१ दामा बस्ने ६२ वर्षीय सार्कबेगा लिम्बु सोही ठाउँस्थित दामा डाडामा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी रूपन्देही, मायादेवी गाउँपालिका-६ बरौलास्थित बेथरी खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-११ गनबरिया बस्ने शिवशकंर लोधको छोरा ७ वर्षीय अमित लोध सोही ठाउँस्थित निर्माण हुँदै गरेको घरको सेफ्टी ट्याङ्की भित्र सोमबार मृत अवस्थामा फेला परेका छन् । यता रोल्पा, सुनछहरी गाउँपालिका-४ झिन्जास्थित छहरीखोलामा हाल नाम, थर, वतन नखुलेकी महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।