नवकान्तिपुर संवाददाता
काठमाडौं, २ वैशाख ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । धादिङ, निलकण्ठ नगरपालिका-५ खाल्टेमा बा.३ ख ८९४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही नगरपालिका-५ पतेनी बस्ने राम रम्तेलको छोरा १० वर्षीय सन्तोष रम्तेल र सोही नगरपालिका-५ पतेनी बस्ने ४० वर्षीय राम (गोपे) रम्तेल रहेका छन् । सन्तोष रम्तेलको घटनास्थलमै र राम (गोपे) रम्तेलको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।
त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-१३ झलारी गाउँमा से.५ प ३७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री गोदावरी नगरपालिका-५ बस्ने ४५ वर्षीय कैलाश चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ । शनिबार ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै रोल्पा, लुङग्री गाउँपालिका-५ बिष्ट पोखरास्थित सडकमा लु.३३ प ६९०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुदा मोटरसाइकलमा सवार १६ वर्षीय प्रेम रोकाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता झापा, कमल गाउँपालिका-३ सानो केर्खास्थित सडकमा बा.६४ प १४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक अर्जुनधारा नगरपालिका-४ बस्ने २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता सुनसरी, बराहक्षेत्र नगरपालिका-३ हर्दियास्थित सडकमा को.३६ प २५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बिष्टिनी चोक बस्ने २० वर्षीय संजिब माझीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ ।
यसैगरी धादिङ, धुनिवेशी नगरपालिका-६ चालीसेस्थित सडकमा ना.४ ख ३४७२ नम्बरको ट्रकले बा.८६ प ३००७ नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिँदा स्कुटर चालक गजुरी गाउँपालिका-२ बिहारी फर्म बस्ने २६ वर्षीय निराजन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।