‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’

नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किनुहुन्छ । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर बेलाबेलामा झस्काइरहन्छ उहाँलाई ।

विदेश जाने भनेर घरबाट निस्कनुभएका उहाँ विदेश पुग्न त पाउनुभएन, झण्डै यस संसारबाटै सदाको लागि बिदा हुनुपरेको थियो । विदेशमा गएर धन कमाएर परिवारलाई सुखसँग पाल्ने उहाँको सपना त पूरा भएन नै । विदेश जान हिँडेकै कारण स्वदेशमै बसेर गरिखाने खुट्टा पनि गुमाउनुपर्यो । भाग्यले बाँचेका ऋषि अहिले आफू र परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा हुनुहुन्छ । दुईवटा वैशाखीको भरमा उहाँको जिन्दगी चलिरहेको छ ।



विदेश जानका लागि उहाँ काठमाडौँ पुगिसक्नुभएको थियो । २०७२ वैशाख १४ गते उहाँको उडान थियो । हवाई टिकट र मेडिकल रिपोर्ट पनि आइसकेको थियो । दिउँसो नयाँबानेश्वरमा साथी भेट्ने योजना बनिसकेकाले बिहान होटलमा खाना खाएर बाहिर निस्कनै लाग्दा सिङ्गो घरै घुम्न थाल्यो । रिङ्गटा लागेर भाउन्न भएजस्तो भयो । खै के भएको हो कुरा नबुझ्दै उहाँ बस्नुभएको गोङ्गबु नयाँबसर्पाकस्थित सयपत्री होटलको भवन गर्ल्याम्मै ढल्यो ।

अलिपछि थाहा पाउँदा ऋषि खनाललाई कुनै अँध्यारो गुफाभित्र बसेजस्तो भयो । अनि देब्रे खुट्टा शरीरबाट छुट्टिएजस्तो लाग्यो । अँध्यारोमा छामछाम छुमछुम गर्दा छेवैमा कोही भेटिएजस्तो लाग्यो, तर बोली कसैको आएन । आफू बसेको होटल लडेको र आफू त्यसमै च्यापिएको उहाँलाई थाहा भयो । उहाँ सम्झनुहुन्छ, “सक्दो चिच्याए । तर अहँ कसैले सुनेन ।” अवस्था सुन्ने खालको पनि त थिएन ।

वैशाख १२ गतेको भूकम्पमा गोङ्गबु क्षेत्रमा धेरै घर भत्किएका थिए । अवस्था कस्तो थियो भने उहाँ होसमा आएको केही घण्टामा मोबाइल बज्यो तर मोबाइल झिक्न हात गोजीसम्म पुर्याउन सक्ने अवस्था नै थिएन । भोक प्यासको कुनै सीमा नै थिएन । बाँच्नका लागि हरसम्भव उपाय गर्दा पनि कुनै विकल्प थिएन । मर्नुभन्दा बौलाउनु निको भनेझैँ उहाँले कतिपटक त आफ्नै पिसाब पिएर पनि प्यास मेट्नुपर्यो ।

जतिबेला होसमा आउनुभएको थियो, त्यसपछि बाहिर निस्कन अनेक कोसिस गर्दा सम्भव थिएन । विस्तारै केही आवाज आएजस्तो सुनिन्थ्यो । अब त बाँचिन्छ कि भन्ने आश पलाउँथ्यो, उहाँ गुहार माग्दै चिच्याउनुहुन्थ्यो तर बाहिर कसैले सुन्न सक्ने अवस्था थिएन । पछि थाहा भयो, त्यो आवाज घर भत्काउन आएको डोजरको थियो । डोजरको आवाज सुन्दा पनि उहाँलाई भगवान् आएजस्तो लाग्थ्यो ।

दिनरात कुनै याद भएन । उहाँको अनुमानमा दुई दिनपछि केही शव गन्हाउन थालेका थिए । तर विस्तारै नाकले गन्ध पनि खुट्याउन छोडेको थियो । बेलाबेलामा त दिमागले पनि काम नगरेजस्तो भयो । पुरिएका बेला सबैभन्दा धेरै याद आमा र छोराको आएको उहाँ बताउनुहुन्छ । पुरिएको तीन दिनसम्म पनि आफ्नो उद्धार गर्न आउने मानिसको चाल नपाएपछि उहाँलाई बाँच्ने आश मरिसकेको थियो । उहाँलाई अब कोही उद्धार गर्न आउँछन् भन्ने पनि लाग्न छाडेको थियो ।

बेला–बेलामा आउने आवाजको पनि विश्वास लाग्न छाड्यो । शरीर पूरै सेतो भइसक्यो, छाम्दा पनि छाला नै आउँलाजस्तो लाग्थ्यो । “मानिस एकदिन मर्छ भन्ने सबैलाई थाहा छ । तर अब म मर्दैछु भन्ने अनुभूति हुँदा पनि केही गर्न नसक्दाको पीडा निकै कष्टदायी हुने रहेछ”, उहाँ भन्नुहुन्छ ।

तीन दिनपछि अचानक कतैबाट उज्यालोका किरण उहाँको आङसम्म परे । कस्तो अचम्म । अब मर्दैछु भनेर आशै मारिसकेको जीवनले नयाँ किरण देख्न पाउँलाजस्तो भयो । उहाँ सम्झनुहुन्छ, “म बोल्न सक्ने अवस्थामा थिइन । विस्तारै जीवनका किरण छिराएको त्यो प्वाल अलि ठूलो भयो । कोही बोल्यो, ‘ए ए यहाँ त कोही जिउँदै भेटिएला जस्तो छ । लाइट ल्याउ, लाइट ल्याउ, अक्सिजन ल्याउ’ आदि–आदि ।”

अलिबेरमा उहाँलाई एउटा पाइपबाट अक्सिजन आयो । अक्सिजन आउन थालेपछि खाना खाएजस्तो लागेको उहाँ सम्झनुहुन्छ । सशस्त्र प्रहरी र नेपाली सेनाले बनाएका प्वाल केहीबेरमा ठूलो भयो । कसैले उहाँको मुखसम्म पानी पुर्यायो । झण्डै ८२ घण्टासम्म घरभित्र च्यापिएर बसेको मानिस जसले केहीपल्ट आफ्नै पिसाब पियो उसको मुखमा पानी पर्दा कस्तो अनुभव हुँदो हो ? यसको केवल अनुमान मात्र गर्न सकिन्छ ।

वैशाख १२ गते पुरिनुभएका ऋषिको १६ गते उद्धार भएको थियो । ऋषिलाई बाहिरी दुनियाँमा आउँदा संसार जितेजस्तो लाग्यो । उहाँसँग बाँच्नको लागि पुग्दो आत्मबल थियो । उहाँ भन्नुहुन्छ, “खुट्टा नथिचिएको भए दाँतले कोट्याएर भए पनि म बाहिर निस्कन्थे होला ।” ऋषिले राति १२ बजे घरमा फोन गरे । आमाको बोली सुन्दा आवाजै निस्केन । श्रीमतीसँगको फोन वार्तामा पनि मात्र सुकसुक निस्कियो ।

गोङ्गबुमा रहेको भूकम्पले भत्किएको साततले गेष्ट हाउसले च्यापिएका जीवितै उद्धार भएको विभिन्न सञ्चारमाध्यममा समाचार पनि बन्यो । सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्धार टोलीको १० घण्टा लामो प्रयासपछि खनालको उद्धार गरेको थियो । अहिले उहाँलाई पुर्नजीवन पाएकामा खुसीको कुनै सीमा त छैन नै तर त्यसले मात्रै छाक टर्ने रहनेछ । अहिले बाँचनका लागि पनि उत्तिकै सङ्घर्ष गरिरहनुपरेको छ । अहिले आफूलाई दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्ताले पिरोलिरहेको उहाँको भनाइ छ । कहिलेकाहीँ त उहाँलाई लाग्छ, ‘बरु उति नै बेला मरेको भए आजसम्म घरकाले पनि बिर्सन्थे होलान् ।’

उपचारका लागि उहाँ पटक–पटक काठमाडौँ जानुपरेको थियो । उहाँको उपचारको क्रममा एउटा खुट्टा काटिएको छ । त्यतिबेला उपचार खर्च त सरकारले व्यहोरेको थियो तर काठमाडौँ आउजाउ, औषधि खर्च गर्दा रु पाँच लाखभन्दा बढी खर्च लागेको छ । विगत भुल्ने प्रयास गरे पनि ऋषिलाई भविष्यकै चिन्ता छ । उहाँलाई कुनै सीप सिकेर जीविकोपार्जन गर्न पाए हुन्थ्यो भन्ने लाग्दछ । काठमाडौँमा विभिन्न सङ्घसंस्थाले निःशुल्क सीपमूलक तालिम दिने बताएका थिए तर ती संस्थाले सम्पर्क नै गरेनन्, कसैको आश गर्नुभन्दा स्वावलम्बी भएर बाँच्ने इच्छा छ ऋषिको ।

काठमाडौँमा भाडा तिरेर बस्ने र बिहान बेलुका खाने स्रोतसमेत जुटाउन नसकेर आफूजस्तै साथीहरुले सीपमूलक तालिम लिन नसकेको उहाँले बताउनुभयो । “खानेबस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर अङ्गभङ्ग भएकाहरुले सीप सिकेर केही काम गरेर खान सक्ने थियौँ”, उहाँ भन्नुहुन्छ । सरकारले अपाङ्गहरुलाई केही गरेर भए पनि ढुक्कसँग जीवन जिउने वातावरण मिलाइदिनुपर्ने उहाँको माग छ ।

उहाँलाई कतैबाट सहयोग त आएन नै, सामान्य प्रक्रियाबाट पाइने अपाङ्ग परिचयपत्रसमेत उहाँले अहिलेसम्म पाउनुभएको छैन । “अपाङ्ग परिचयपत्र पनि पाउन नसक्ने हामी कति अभागी । ‘क’ वर्गको परिचयपत्र भए रु चार हजार मासिक त आउने थियो त्यही पनि छैन । कसले हेर्छ र हामीलाई ? सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्छ भनेर भन्छ, खै त हामीलाई सहयोग गरेको ?” आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयोे ।

उहाँका दुई छोरा गाउँको बाल शिक्षा माध्यमिक विद्यालयमा पढ्छन् । जेठो छोरा कक्षा ४ मा र सानो छोरा बाल शिक्षा पढ्दैछन् । “मेरो बारेमा प्रचार सामग्री बनाएर धेरैले लाखौँ आम्दानी गरेका छन्”, आफ्नो दुःखकष्ट बेचेर धेरै जना लखपति भए पनि आफूलाई कसैले पनि सहयोग नगरेको ऋषिको गुनासो छ । उहाँले भन्नुभयो, “भेटेको बेला सबैले सहयोग गर्छौं भन्छन् तर कसैले गर्दैनन् । गाउँमा बसेको छु विदेश पनि जान सकिन । गोरखा भूकम्पले मेरो जीवन अधकल्चो पार्यो ।” -प्रेमनारायण आचार्य/रासस

सम्बन्धित समाचार