नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । धनुषा, मिथिला नगरपालिका-६ वायर फ्याक्ट्री नजिक सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको ज.१० प २१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जनकपुर उपमहानगरपालिका-१ बस्ने १७ वर्षीय रमित सिंहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ३ जना ढल्केवर अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । उपचार पश्चात डिस्चार्ज भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कपिलवस्तु, विजयनगर गाउँपालिका-६ खजनीस्थित सडकमा लु.५ त ७१३ नम्बरको ट्याक्टर र युपि ५५ एम ९८७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका-१ डिमै बस्ने २९ वर्षीय गुफरान खाँनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-९ तिनकुनेस्थित सडकमा तिनकुनेबाट योगिकुटीतर्फ जाँदै गरेको लु.७२ प ७७२२ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दैलेख घर भएका २२ वर्षीय जगत बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ बिगेटस्थित सडकमा कुडियाबाट रतनगंजतर्फ जाँदै गरेको लु.३ त २८४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुस्ता गाउँपालिका-५ तरेनी बस्ने सुरेन्द्र कंकरको छोरा १३ वर्षीय गोलु भन्ने रोहित कंकरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता चितवन, भरतपुर महानगरपालिका-१८ आदर्श टोलमा बा.प्र.०३-००५ प ५९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८३ वर्षीया दिलमाया अधिकारीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दाङ, तुल्सीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडकमा खमारीदेखि तुल्सीपुरतर्फ जाँदै गरेको रा.१ ह ५७६९ नम्बरको अटो सडकबाट अन्दाजी ३० मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा अटो चालक सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय जिवन घर्तीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।