दिल्लीलाई पराजित गरेसँगै बैंगलोरको प्लेअफ सम्भावना जिवितै   

इन्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना जिवितै राखेको छ । आइतबार राति भएको खेलमा दिल्लीलाई ४७ रनले पराजित गर्दै बैंगलोरले प्लेअफको सम्भावना जिवितै राखेको हो ।

जारी सिजनमा बैंगलोरको यो लगातार पाँचौं जित हो भने दिल्लीको सातौं हार । बैंगलोरको घरेलु मैदान एम चिन्नस्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । बैंगलोरका लागि रजत पाटिदारले ५२ रनको अर्धशतकीय पारी खेले भने विल ज्याकले ४१ रन बनाए । त्यस्तै, क्यामरुन ग्रिन ३२ रनमा अविजित रहँदा विराट कोहलीले २७ रन जोडे ।



दिल्लीका लागि खलिल अहमद र रसिक सलामले समान २-२ विकेट लिए भने इशान शर्मा, मुकेश कुमार र कुलदीप यादवको भागमा समान १-१ विकेट रह्यो । १८८ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्ली १९.१ ओभरमा १४० रनमा समेटिएको थियो । दिल्लीका लागि कप्तान अक्षर पटेलले ५७ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्  ।

यस्तै साई होपले २९ रन जोड्दा ज्याक फ्रेसर म्याकगर्कले २१ र रसिक सलामले १० रन बनाए । बैंगलोरको लागि यश दयालले ३ विकेट लिए भने लकि फर्गुसनले २ विकेट लिँदा स्वपनील सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनको भागमा समान १-१ विकेट रह्यो । जितसँगै बैंगलोर १३ खेलमा ६ जित र ७ हारसहित १२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलमा  ६ जित र ७ हारसहित १२ अंक नै जोडेको दिल्ली छैटौं स्थानमा झरेको छ । आइपिएल अन्तर्गत आज नेपाली समय अनुसार राति पौने आठ बजे गुजरात टाइटन्स र कोलकाता नाइटराइडर्स भिड्दै छन्।

सम्बन्धित समाचार