करेन्ट लागेर चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । प्युठान, नौबहिनी गाउँपालिका-६ निउरा बस्ने २८ वर्षीय सन्तोष दमाइको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेत जोत्ने क्रममा विजुलीको पोललाई अड्याउनको लागि गाडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै महोत्तरी, लोहारपट्टी नगरपालिका-४ बस्ने बिमल कापरको छोरा ७ वर्षीय आशिक कापरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित विवाहको लागि तयार गरिएको साउण्ड सिस्टमको माइकमा बोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस्तै झापा, कनकाई नगरपालिका-२ बस्ने २३ वर्षीया मिना श्रेष्ठको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।



उता दाङ, घोराही उपमहानगरपालिका-३ भानपुर चोकस्थित संजिवनि मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा करेन्ट लागेर प्युठान माण्डबी गाउँपालिका-२ तिराम बस्ने २४ वर्षीय श्याम नेपालीको आइतबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार