नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ जेठ ।
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सले जित निकालेको छ । बुधबार राति भएको खेलमा पञ्जाबले राजस्थान रोयल्समाथि ५ विकेटको जित निकालेको हो ।
बर्सपारा क्रिकेट स्टेडियम, गुहावटीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ ४४ रन बनाएको थियो । राजस्थानका लागि रियान परागले ४८ रन बनाए भने रविचन्द्रण आश्विनले २८ रन जोड्दा सञ्जु स्यामसन र टम कोहलर-क्याडमोरले समान १८-१८ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखीय रहेन ।
पञ्जाबका लागि स्याम करन, हर्शल पटेल र राहुल चाहरले समान २-२ विकेट लिए भने अर्शदिप सिंह र नेथन एलिसको भागमा समान १-१ विकेट रह्यो । १४५ रनको लक्ष्य लिएर मैदान उत्रेको पञ्जाबले १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पञ्जाबका लागि कप्तान स्याम करनले अविजित रहँदै ६३ रनको अर्धशतकीय पारी खेले भने राइली रुसो र जितेश शर्माले समान २२-२२ रन जोड्दा आशुतोष शर्माले १७ रन बनाए ।
राजस्थानका लागि आभेस खान र युजभेन्द्र चहलले समान २-२ विकेट लिए भने ट्रेन्ट बोल्टको भागमा एक विकेट रह्यो । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति पौने आठ बजे सनराइजर्स हैदराबाद र गुजरात टाईटन्स हैदराबादमा भिड्दै छन् ।