सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । रूपन्देही, तिलोत्तमा नगरपालिका-१७ भरौलियास्थित सडकमा लु.३३ प ४९३९ नम्बरको मोटरसाइकलबाट लडेर सियारी गाउँपालिका-१ चिलिया बस्ने ६२ वर्षीया सरस्वती थारूको बिहीबार बिहान मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै झापा, हल्दीबारी गाउँपालिका-२ पाराखोपीस्थित सडकमा मे.१ त ५२३२ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरूषको बिहीबार दिउँसो घटनास्थालमै मृत्यु मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।



यस्तै पाल्पा, निस्दी गाउँपालिका-४ मतियारडाँडास्थित सडकमा लु.१ ज ३३२४ नम्बरको पिकअप गाडी बुधबार बेलुकी दुर्घटना हुँदा गाडीमा सवार सोही गाउँपालिका-४ बस्ने ६ वर्षीय राजिव सुनारी र २० वर्षीय तेजन सोमईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी पूर्वमा उपचारको क्रमममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका पिकअपमा सवारमध्ये १० जनाको नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनमा र २ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता कपिलवस्तु, महाराजगंज नगरपालिका-२ गैडहवा चोकस्थित सडकमा लु.१ ख ८३८४ नम्बरको ट्रक र लु.१७ प ४५६९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय गोरखनाथ कुर्मीको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार