नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ जेठ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला, र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल रहेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनले भने , “कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट आगुऔषध कोकिन बरामद गरिएको छ, जसको तौल दुई केजी छ सय ५४ ग्राम रहेको छ ।” पक्राउ परेकाहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए । बरामद गरिएको अवैध लागूऔषध कोकिनको बजार मूल्य रु सात करोड ९६ लाख हुन आउने ब्यूरोले जनाएको छ ।