नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ जेठ ।
देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । गोरखा, गोरखा नगरपालिका-१० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा । डुबेर झापा घर भई पालुङटार नगरपालिका-१ खोप्लाङस्थित ठुली आमाको घरमा बस्दै आएका १९ वर्षीय समिर श्रेष्ठको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको छेपेटार मेमोरियल अस्पताल हुँदै जिल्ला अस्पताल गोरखामा थप उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी गोरखा, सिरानचोक गाउँपालिका-१ बिरौटा बस्ने कर्णमान तामाङको छोरा १६ वर्षीय मनिष भन्ने मेष तामाङ सोही गाउँपालिका-१ मुगेस्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१८ दामादिकीस्थित पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका-१८ डग्राह टोल बस्ने छोटेलाल शर्माको छोरा १४ वर्षीय राज शर्मा शुक्रबार दिउँसो डुबेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।