ह्युस्टन हरिकेन्समाथि नेपालको ६ रनको रोमाञ्चक जित 

टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले टी-२० अभ्यास खेलमा रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेपालले  घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको हो ।

ह्युस्टनको प्रेरी भ्यु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै  १ ४६ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार शाहले ४७ रन बनाए भने  कप्तान रोहितकुमार पौडेलले २३ रन जोडे । त्यस्तै सन्दीप जोराले २१ रन जोड्दा गुलसन झाले २० र कुशल मल्लले १२ रन बनाए ।



ह्युस्टन हरिकेन्सका लागि उस्मान शिनवारी र इमरान खान जुनियरले समान २-२ विकेट लिए भने जोश ट्रम्प, अली शेख र जिया जाहजादको भागमा समान १-१ विकेट रह्यो । १४७ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन मात्र बनाउन सक्यो । हरिकेन्सका लागि लाहिरु मिलान्थाले ३३ रन बनाए भने अली शेख २३ रन जोडे । यस्तै स्मित पटेल १९ रन जोड्दा आर्कषित गोमेल १८ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिए भने रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराको भागमा समान १-१ विकेट रह्यो । अन्तिम ओभरमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएकोअवस्थामा करण केसीले अन्तिम ओभरमा ३ रन मात्र दिएर एक विकेट लिँदै नेपाललाई जित दिलाए ।

अब नेपालले हरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल शनिबार राति खेल्नेछ । त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार