नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै रु चार करोड ३३ लाख ६८ हजार एक सय १२ ठगी गरेको अभियोगमा एक जनालाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ गरी परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका-११ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ पुरानो सिनामङगल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ४६ वर्षीय नारायणकुमार खड्का रहेका छन् ।
पक्राउ परेका खड्काले विभिन्न व्यक्तिलाई रोजगारीका लागि अमेरिका पठाई दिन्छु भनी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको जाहेरी प्रहरीमा दर्ता भएको थियो । उक्त ठगीमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाऊँ भनी दुर्गाबहादुर वली र कमला डाँगी बस्नेतले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका निज नारायणकुमार खड्काको ज्योति विकास बैंकको खातामा चार करोड ३३ लाख ६८ हजार एक सय १२ दशमलव ५५ पैसा विभिन्न व्यक्तिले जम्मा गरेको देखिएको छ । अमेरिका लैजाने प्रलोभन देखाएर पीडितलाई घानासम्म पु¥याइ अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएकोे छ । अमेरिका र युरोपको सपना देखाएर प्रतिव्यक्ति रु १० लाखसम्म असुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताउनुभयो ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निजलाई विशेष टोलीले कञ्चनपुर भिमदत्त नगरपालिका-११ गड्डा चौकीबाट सोमबार पक्राउ गरी काठमाडौँ ल्याएको हो ।
ठगीमा पर्ने मध्येका जाहेरवाला कमला डाँगी बस्नेतले विभिन्न मितिमा रु ३८ लाख ३५ हजार र दुर्गाबहादुर वलीले विभिन्न मितिमा रु आठ लाख २० हजार रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ । निजले अमेरिका पठाउने भन्दै हालसम्म करिब आठदेखि १० जना व्यक्तिबाट रकम लिएको र युरोप पठाए बापत प्रतिव्यक्ति रु आठदेखि दश लाखसम्म रकम लिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
अभियुक्त नारायणकुमार खड्काको खातामा जम्मा भएको रकममध्ये रु चार करोड ३२ लाख २६ हजार एक सय एक दशमलव ७३ पैसा झिकी सकेको र हाल खातामा एक लाख ४२ हजार पाँच दशमलव ८२ पैसा मौज्दात रहेको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
पक्राउ परेका खड्कालाई विभिन्न कार्यालयबाट आठ वटा बैंकिङ कसुर र एउटा ठगी मुद्दा (जम्मा बिगो रु ७८ लाख ८८ हजार बिगो बराबर) चलेको देखिएको प्रहरीले जनाएको छ । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।