सत्ता : केवल जुँगाको लडाइँ !

पटक पटक परीक्षण भएका र सिर्जनशीलता केही नभएका तर सत्ता र शक्तिभन्दा बाहिर बस्न नरुचाउने सबैको अर्जुनदृष्टि प्रधानमन्त्रीको कुर्सीमा देखिन्छ । अहिले मुख्य रूपमा नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको कुर्सीमा हुँदा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई खपिनसक्नु गरी छाती पोलेको हुनसक्छ । पछिल्लो समयमा आएर साङ्केतिक रूपमा ओली स्वयम्ले पनि आफैंले बनाएको सरकारप्रति आफ्नो असन्तुष्टि रहेको जनाऊ दिएका छन् । आफूबाहेक अरूलाई अयोग्य देख्ने र प्रमको कुर्सीमा अर्को बसेको देख्न नसक्ने यो प्रवृत्ति एउटा घातक सरुवारोगजस्तै बनेर शीर्ष नेताहरूमा फैलिएको छ । आलोपालो यस रोगबाट ओली, देउवा, दाहाल, नेपाललगायतका सबै नेताहरू शिकार भइसकेका छन् ।

राजनीतिलाई कर्म थलो बनाउने जनताको छोराले प्रमको सपना देख्नु नराम्रो भने होइन । राजनीतिमा समर्पित जो कोहीले पनि यदि मुलुकको शीर्ष कार्यकारी स्थानमा पुग्ने सपना देख्न डराउँछ भने उसले राजनीति नगरे पनि हुन्छ । त्यस्तो कातर व्यक्तिले राजनीतिमा लागे पनि उसले केही प्रतिफल दिन सक्तैन । तर प्रमको कुर्सीको सपना देख्नका लागि भने व्यक्तिमा खास योग्यताको विकास हुनै पर्दछ । योग्यताविनाको रहरले पक्कै पनि दुर्घटना निम्त्याउँछ । यस्ता राजनीतिक दुर्घटनाहरूबाट नेतालाई लाभ भएपनि सिङ्गो देशलाई अपूरणीय क्षति हुन्छ । अहिले नेपालले भोगिरहेको दुःखद् अवस्था त्यसैको उपज हो ।



मिडियाले नेपालको अहिलेको अवस्थालाई दुर्घटना मानेर समाचार नलेखे पनि वास्तवमा यो एउटा दुर्घटनामय अवस्था हो । यस दुर्घटनाबाट केही थान नेताहरू र तिनीहरूका आसेपासेहरू लाभान्वित भए पनि आम नेपाली जनताको भरोसामा र सिङ्गो देशलाई भने अपूरणीय क्षति भएको छ । अपरिपक्व, असक्षम र आत्मकेन्द्री नेताहरू भएको देशमा यस्ता दुर्घटना हुनु पनि नौलो कुरा नहोला । त्यसैले प्राकृतिक र सांस्कृतिक रूपले नेपाल विश्वकै धनी देश भएर पनि अयोग्य र अक्षम नेताहरूका कारण मुलुक दरिद्र बन्न पुगेको छ । नेपालसँग सीमा जोडिएका देशहरू छोटो समयमा नै सामान्य अवस्थाबाट समृद्धिको उच्चतम् अवस्थामा पुगिसके तर हामी भने आधारभूत आवश्यकता पूरा गर्न पनि अरूकै मुख ताक्ने अवस्थामा छौं । तैपनि निलज्ज नेताहरू भने औकातभन्दा ठूला कुरा गरेर आत्मरतिमा रमाउन अप्ट्यारो मान्दैनन् !

महाभारतमा दुई महारथि पात्रहरूको प्रसङ्ग स्मरणीय छ । ती दुई पात्र हुन– अर्जुृन र दुर्योधन । अर्जुन र दुर्योधन दुबै शूरवीर र महारथ प्राप्त थिए, पराक्रमी थिए र दुबै युद्धकलामा पनि निपूर्ण थिए । अर्जुन पक्षको तुलनामा दुर्योधनसँग भीष्मपितामह, द्रोणाचार्य, अश्वस्थामा, कर्णजस्ता धेरै महारथि थिए तर पनि महायुद्धमा दुर्योधन अर्जुनपक्षसँग पराजित भए । किनकि अर्जुनका सल्लाहकार र सारथि श्रीकृष्ण थिए भने दुर्योधनका सल्लाहकार उनका कपटी मामा सकुनी थिए । निर्णायक घडीमा सल्लाहकारको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यस प्रसङ्गबाट थाह पाउन सकिन्छ ।

हाम्रा नेताहरू सकुनीजस्ता कपटी सल्लाहकारहरूका घेराबन्दीमा भएको महसुस हुन्छ । कपटी सल्लाहकारहरूले नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा प्रभावकारी काम गर्नलाई प्रोत्साहन गर्दैनन् । नेताहरू स्वयम् पनि कागले कान कोट्याएको हो कि रगत चुसेको हो भनेर थाहा पाउने औकात राख्तैनन् । परिणाम्स्वरूप देश क्रमशः सकुनीको षडयन्त्रको शिकार बन्दै छ । धृतराष्ट्रहरू सत्तामा छन्, निरीह जनताहरू भने द्रौपदीरूपी मुलुकको चीरहरण भएको दृष्य टुलुटुलु हेरेर बस्न विवश छन् ।

भिजन र काम गर्ने इच्छाशक्ति भएको व्यक्ति नेतृत्व आयो भने २ वर्षमा नै जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका काम गरेर देखाउन सक्छन् भन्ने दृष्टान्त बनेका छन् बालेन शाह । काठमाडौं महानगरपालिकाको प्रमुख बनेपछि बालेनले आजसम्म जेजति काम गरे, त्यो अभूतपूर्व छ । बालेन आफ्नै कर्मले व्यक्ति मात्र होइन, प्रवृत्ति नै बन्न पुगेका छन् । तर बालेनको व्यक्तित्वका अगाडि आफूलाई पुड्को र निरीह देख्न थालेका नेताहरू भने बालेनलाई असफल गराउन कम्मर कसेर लागेका छन् । कहिले फोहर व्यवस्थापनमा भाँजो हालेर, कहिले सुकुम्कासी उठाएर, कहिले सडकपेटीका व्यापारीलाई उक्साएर र कहिले कवाडीवालाहरूलाई सडकमा उतारेर बालेनको गतिलाई रोक्ने कोसिस गरिरहेका छन् । तर पनि बालेन आफ्नो लक्ष्यमा निरन्तर गतिशील छन् ।

भनिन्छ, सपना त कुनै नेत्रहीन व्यक्तिले पनि देख्न सक्छ । त्यसैले सपना देख्नु र सपना बाँड्नु मात्र ठूलो कुरा भएन । ठूलो कुरा भनेको त आफूले देखेको सपना पूरा नहुञ्जेल निदाउनै नसक्नु चाहिँ हो । बालेनजस्तै कर्मवीर कुनै व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा पुगेको दिन मात्र देशले यथास्थितिबाट काँचुली फेरेको महसुस गर्नेछ र जनताले पनि व्यवस्था परिवर्तनकोे प्रत्याभूति गर्न सक्नेछन् । अहिलेका तथाकथित् नेताहरूबाट समृद्धिका नाममा सिन्को भाँचिनेवाला छैन । यी नेताहरू रहुञ्जेल व्यवस्था परिवर्तन कागलाई बेल पाकेसरह मात्र हुनेछ ।

लोकतन्त्रपछि सत्ताको बागडोर सँभाल्न पुगेका कुनै पनि नेतृत्वमा मेयर बालेन शाहको जति पनि भिजन र इच्छाशक्ति देखिएन । कसैले नबोलेरै आफ्नो निवीर्यपनलाई लुकाउन खोजिरहेका छन् भने कोही कोहीले धेरै बोलेर । अझै पनि तिनै शौर्यहीन र दिशाहीन व्यक्तिहरू नै प्रधानमन्त्रीको कुर्सीका लागि ह्राल चुहाइरहेको देख्ता भने बूढो गोरु र कोरली गाईको कथा स्मरण हुन्छ । फेरि पनि यिनै असफल व्यक्ति नेतृत्वमा पुग्नु भनेको देशलाई अझ पछि धकेल्नुजस्तै हो । त्यसैले अब मतदाताहरू स्वतन्त्र हुने बेला आएको छ । जनता स्वतन्त्र नभई युग–पुरुषको जन्म सम्भव हुनेछैन ।

सत्ताभित्रै खटपट र छटपट
अहिले सत्ता गठबन्धनभित्रै असन्तुष्टिका स्वरहरू सार्वजनिक हुन थालेका छन् । आर्थिक वर्ष २०८१–०८२ को बजेट सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा अहिले सरकारले ल्याएको बजेटलाई माओवादी पार्टीको बजेट कि सरकारको बजेट भनी आलोचना गरेका छन् । बजेटका विषयमा आफूहरूसँग सल्लाह नगरी एकलौटी रूपमा ल्याएको भन्दै उनले आलोचना गरेका हुन् । अध्यक्षको आसय बुझेपछि उपाध्यक्ष विष्णु पौडेलले पनि सदनबाटै अध्यक्षको लयमा लय मिलाएइदिए । सारमा एमाले अब प्रमको कुर्सीमा दाहालले निरन्तरता पाएको देख्न चाहँदैन । भित्रभित्रै त्यसैको होमवर्क भइरहेको हुनुपर्छ ।

नेकपा एकीकृत समाजवादी पार्टी पनि अहिलेको गठबन्धनसँग सन्तुष्ट हुन सकेको छैन । भाषामा जे भनिए पनि यस पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि थोरै समयका लागि भए पनि प्रधानमन्त्रीको कुर्सी नै चाहिएको छ । नयाँ केही गरेर देखाउने हैसियत त उनीमा छँदैछैन तर पनि उनलाई एमालेबाट छुट्टिएपछि बाक्लो दाल खाएको ओलीलाई देखाउने रहर छ ।

कुनै बेला धेरै आशा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने दोस्रो पटक गृहमन्त्री त भए तर उनको कार्यशैली पहिलाको जस्तो नभएको टिप्पणी सुनिन्छ । यही गतिले उनलाई आफ्नो साख र पहिले आफैंले दिएका अभिव्यक्तिहरूको बचाउ गर्न निक्कै कठिन हुने देखिन्छ । उनले केही साहसिक काम गरेका भएपनि उनीबाट अलि धेरै कामको अपेक्षा गरिएकोले होला, अहिले गरेका २÷४ वटा साहसिक काम ओझेलमा परेका लाग्छन् । उनले सहकारीको रकम हिनामिना गरेको भनेर लागेको आरोपलाई पखाल्न सकेका छैनन् । इलामको लज्जाजनक पराजयबाट शिक्षा लिएर उनले सहकारीको नाममा लागेको दागलाई पखाल्न सकेनन् भने उनले नखाएकै भनेपनि विष लाग्ने छ र त्यसले उनलाइ मात्र होइन, उनको सिङ्गो पार्टीलाई पनि अपूरणीय क्षति पुर्याउनेछ ।

पछिल्लो समयमा लामिछाने पनि प्रम प्रचण्डसँग असन्तुष्ट देखिएका छन् । उनको तर्फबाट खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले ‘खल्तीमा राजीनामापत्र बोकेर हिँडिरहेको’ अभिव्यक्ति दिएर रास्वपा कुनै पनि बेला गठबन्धनबाट बाहिरिन सक्ने जनाऊ दिएका हुन् । प्रधानमन्त्री दाहाललाई आफ्नो काम गराउनलाई दिइएको दवाब यो होइन भने यस अभिव्यक्तिको सारले चाँडै गठबन्धन परिवर्तन हुन सक्ने सङ्केत गरेको हुनसक्छ ।

यसरी एमाले, एकीकृत र रास्वपासहितको गठबन्धनभित्र असन्तुष्टिको आगो दन्किरहेको भए पनि आवरणमा भने गठबन्धनभित्र कुनै खटपट नभएको बताउने गरिन्छ । दाहालसँग ओलीले लिन सक्ने प्रतिशोधको ज्वालाले पनि ‘बजेट बनाउँदा सल्लाह नगरिएको’ भन्ने विषयमा सल्किाएको असन्तुष्टिको आगोलाई निभ्न दिने छैन । दाहाल रक्षात्मक त देखिएका छन् तर उनले लगाएको कवच भने प्रष्ट भइसकेको छैन । यस परिस्थितिमा निकट भविष्यमा नै कुनै राजनीतिक परिवर्तन भयो भने आश्चर्य नमाने हुन्छ ।

 

 

सम्बन्धित समाचार