जनताको सचेत निगरानी नभए नेतृत्व निरङ्कुश बन्छ

राजनीतिक दललाई सुधार गर्न जनताको चेतनाको स्तरमा वृद्धि हुनुुपर्दछ । देशमा शासन गर्ने शासकलाई राम्रो र नराम्रो छुट्याउन सक्ने क्षमता भएका जनताले मात्र शासकीय सुधार गर्न सक्छन् । नराम्रोलाई खबरदारी गर्ने र राम्रो कामका लागि जनदबाब दिनसक्ने जनता र जनमतको कदर गर्ने राजनीतिक नेतृत्व भएमा देश र जनता सबल बन्दछन् । मुलुकमा समृद्धिको आधार तयार हुन्छ ।

स्वाभाविक छ– असल र इमान्दार राजनीतिक नेतृत्व भएमा जनमतको कदर हुन्छ अनि लोकतन्त्रको संस्थागत विकास सम्भव हुन्छ । राजनीतिले जनतालाई झुक्याउने र भ्रममा पार्ने प्रवृत्ति नेपालजस्ता अल्पविकसित मुलुुकहरूमा देखिन्छ । यस्तो अवस्था ती देशहरूमा बढी हुन्छ, जसले अरुको सहयोगमा मात्र आफ्नो अस्तित्व कायम राख्न सकेका हुन्छन् । यस्तो मुलुकका जनताको चेतनाको स्तर पनि कमजोर नै हुन्छ । यही कमजोरीबाट दल र दलका नेताले फाइदा लिने हो ।



जनतामा चेतनाको स्तर बढ्दै जाँदा भ्रमात्मक राजनीतिक खेल कमजोर हुन्छ । तर नेपालजस्ता अल्पविकसित देशहरूमा जनताको यही आर्थिक, सामाजिक, बौद्धिक र मनोवैज्ञानिक कमजोरीमा टेकेर दलहरूले जनताकै नाममा राजनीतिक स्वार्थपूर्ति गर्ने हो । र, लोकतन्त्रका नाममा जनताको यही कमजोर बौद्धिक चेतनालाई आधार मानेर दलहरू लोकतन्त्रकै उपहास गर्ने गर्दछन् । नेपाल र आम नेपालीको भोगिरहेको अवस्था पनि यही हो ।

नेताहरूको सोच, देशप्रतिको माया र जनताको अवस्थाप्रति चिन्ता गर्ने परिपाटीबाट मात्र सकारात्मक परिणाम प्राप्त हुने भएकाले नागरिकहरू सचेत हुन त्यत्तिकै जरुरी छ । विकसित देशहरूका जनताको चेतनाको स्तर उच्च हुने भएकोले राजनैतिक दलका नेताहरूले नेपालमा जस्तो जनतालाई भ्रममा राखेर जनताबाट उठाइएको करको दुरुपयोग गर्ने हिम्मत गर्न सक्तैनन् । त्यसैले ती देशहरूमा समृद्धि सम्भव भएको हो । अतः के भन्न सकिन्छ भने कुनै देशको विकासको सूूचक त्यस देशका नागरिकहरूको चेतनाको स्तरलाई हेरेर मूल्याङ्कन गर्न सकिन्छ ।

अल्पविकसित मुलुकहरूमा फोहरी राजनीतिक खेलले एकातिर नागरिकलाई प्रताडित बनाएको देखिन्छ भने अर्कोतिर सीमित स्वार्थ समूहले जनतालाई भर्याङ बनाएर आफ्नो स्वार्थको लाभ लिइरहेको देखिन्छ् । त्यस्तो मुुलुुकमा जनताको दैनिकी तथा जीवन धान्न गरिने प्रयासहरू एकदमै सीमित र कठिन हुन्छन् । हुनेखाने र हुँदा खाने वर्गबीच ठूलो अन्तर देखिन्छ । हुँदा खाने वर्ग राजनीतिमा कम संलग्न हुन्छन् । उनीहरू निर्वाचनको समयमा मात्र राजनीतिक क्रियाकलापमा भाग लिन्छन्, बाँकी समय उनीहरू राजनीतिक चासोमा भन्दा टाढा रहेर आफ्नै रोजीरोटी जुुटाउने काममा व्यस्त रहन्छन् ।

मतदाताको ठूूलो हिस्सा राजनीतिक दाउपेचबाट टाढा हुुने हुुँदा दल र तिनका नेताहरूलाई खबरदारी गर्ने तथा विसङ्गतिप्रति दबाब सिर्जना गर्ने काम कमजोर हुुन पुग्छ । हुुनेखाने वर्गले राजनीतिबाट कुनै न कुनै रूपमा लाभ लिइरहेका हुन्छन् । त्यसैले उनीहरूबाट नेतृत्वलाई दबाब हुुने सम्भावना न्युन रहन्छ । चिया पसलमा बसेर २/४ जनाले गर्ने आलोचनाले मात्र राजनीतिक सुधारको सम्भावना नहुँदो रहेछ ।

शासकीय स्वरूपमा सुधार ल्याउन जनदबाब नै प्रभावकारी अस्त्र हो भन्ने कुरामा दुईमत देखिन्न । नेपालमा जति पनि राजनैतिक परिवर्तनहरू भए, जनताकै दबाबका कारण भए । त्यसैले जब जब नेतृत्व स्वच्छन्द र आत्मकेन्द्री भएर शासन गर्न उद्यत हुन्छ, तब तब जनताको कठोर र निर्मम् दबाब आवश्यक हुन्छ । जनता अन्य कुरामा अलमलिएको अवसर देखेर नेतृत्व निरङ्कुश र स्वेच्छाचारी बन्ने हो । नागरिक समाजको सचेत निगरानीले नै नेतृत्व सही दिशातिर गतिशील हुने हो । त्यसैले नेतृत्वलाई लगाम लगाउने कार्य पनि जनताले नै गर्ने हो । त्यसका लागि जनता सचेत मात्र भएर पुग्दैन, स्वतन्त्र पनि हुन सक्नुपर्छ । नेपाल बिगार्नमा जति भूमिका राजनैतिक नेतृत्वको छ, त्यति नै भूमिका दलको झोला बोक्ने कथित् बौद्धिक वर्गको पनि छ ।

सम्बन्धित समाचार