नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असार ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित सडकमा बा.२ ज ३६३१ नम्बरको ट्याक्सीले प्रदेश नं.३-०२-००९ प ९२६१ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा ट्याक्सी चालक मकवानपुर टिष्टुङ गाउँपालिका-८ घर भएका ४६ वर्षीय वीर बहादुर स्याङतानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थली सोल्टि मोडस्थित सडकमा बा.प्र०२-०२८ प ७८५५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने ४५ वर्षीय सन्त बहादुर स्याङतानको बुधबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै धनुषा, शहिदनगर नगरपालिका-९ क्युटानीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साईकलयात्री कमला नगरपालिका-८ हरिने बस्ने ५५ वर्षीय राजदेव यादवको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै बारा, कलैया उपमहानगरपालिका-२३ बैराठपुर चोकस्थित सडकमा ना.५ ख ५५०८ नम्बरको ट्रकले बा.३४ प २१३३ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार मौलापुर नगरपालिका-६ पथरा बुधराम बस्ने ७५ वर्षीया अमरावती देवीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै बर्दिया, बाँसगढी नगरपालिका-३ खल्लाचोकस्थित सडकमा रा.७ प ४५५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाँसगढी नगरपालिका-४ बस्ने ६५ वर्षीय तोहित अली जागाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।