रास्वपाले गर्‍यो मुकुल ढकालमाथि कारबाही, सबै पदीय जिम्मेवारी खोसियो 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पार्टी अनुशासन समितिको सिफारिश अनुसार सबै पदीय जिम्मेवारीबाट हटाएको छ ।

पार्टी केन्द्रीय समितिको मंगलबारको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उहाँलाई हटाएको हो । उहाँलाई सर्वसम्मतिबाट पदमुक्त गरिएका कार्यवाहक प्रवक्ता मनिष झाले राससलाई बताउनुभयो । उहाँको साधारण सदस्यता मात्र कायम गरिएको छ ।



पार्टीबाट निष्काशित भएपछि डा. ढकालले आफू सभापति रवि लामिछानेको क्लवबाट मात्रै निष्काशित भएको प्रतिक्रिया दिंदै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न भने नरोकिने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन’ ।

पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ढकाललाई केन्द्रीय समितिको निर्णयप्रति असहमत भएमा पुनरावेदन गर्नसक्ने निर्णय गरेको छ । रास्वपाले पुनरावलोकन समिति सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा गठन गरेको छ ।

पार्टीभित्र बोलेकै कारण महामन्त्री कारबाहीमा पर्ने कुरालाई स्वाभाविक रुपले लिन सकिन्छ र भन्ने प्रश्नमा प्रवक्ता झाले भन्नुभयो, “उहाँले राजनीतिक व्यवहार नदेखाएका कारण कारबाही गरिएको हो ।”

सम्बन्धित समाचार