नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युत्को बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गर्नुभएको छ । “हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ”, ओलीले लेख्नुभएको छ ।
यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि ओलीले प्रष्ट पार्नुभएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन अहिले जोडिएको उहाँले जानकारी दिनुभएको छ ।