मृत अवस्थामा पाँच जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । तनहुँ, शुक्लागण्डकी नगरपालिका-८ सुरौदी खोलाको किनारमा सोही नगरपालिका-२ डेरा गरी बस्ने रूकुम उत्तरगंगा गाउँपालिका-५ घर भएका ५७ वर्षीय काले बुढामगर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै बाँके, बैजानाथ गाउँपालिका-२ हात्तीमुन्डा बस्ने दिल बहादुर बस्नेतको छोरा ८ वर्षीय दामोदर बस्नेत सोही गाउँपालिका-३ हात्तीमुन्डा पुलचोक नहरमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार फेला परेका छन् ।

यसैगरी बाँके, खजुरा गाउँपालिका-८ बस्ने राजन गिरीकी छोरी ७ वर्षीया आरती गिरी सोही गाउँपालिका-८ पेलाडीमालास्थित नालाको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेकी छिन् । यस्तै नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ पिप्रहर पुजैलीस्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नुखुलेकी अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता सुनसरी, इनरूवा नगरपालिका-३ स्थित महेन्द्र चोकमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार