नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।
बागलुङ र गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ ।
मंगलबार बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो ।
स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो । घाइते भएका दुईजनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।