अनाम शर्मा
काठमाडौं, २४ साउन ।
शेख हसिनाले विगत १५ वर्षदेखि बङ्गलादेशको शासनसत्तामा रहेर एकछत्र राज गरेकी थिइन् । उनीसँग संसद्मा बहुमत पनि थियो । उनको नेतृत्वले बङ्गलादेशमा विकासको फड्को पनि मारेकै थियो । देशका लागि उनको योगदान पनि कम थिएन । तर भनिन्छ, समयसँगै उनीभित्र निरङ्कुशताले जरा गाड्दै गयो । बहुमतको मदले मात्तिएर सानो कुरामा अभिमान देखाउँन खोज्दा उनले सत्ताबाट च्युत हुनु मात्र परेन, जीवन रक्षाका लागि सेनाको सहयोगमा मातृभूमिबाटै पलायन हुनुपर्ने स्थितिको सिर्जना भयो ।
हिजो जो–जसले आफ्नो अमूल्य मत दिएर हसिनालाई पुनः पुनः सत्तामा पुर्याएका थिए, आज तिनीहरू नै लाखौंको सङ्ख्यामा सडकमा उत्रिएर उनको कार्यशैलीको विरोध गरे र देशै छाडेर भाग्न बाध्य गराए । केही वर्ष अगाडि श्रीलङ्काका जनताले पनि यसै गरी लामो समयदेखि शासनसत्तामा जरा गाडेर बसेको राजपाक्षे परिवारलाई उखेलेर फ्याँकिदिएका थिए । जब जब नेतृत्वमा अहङ्कारले आकार लिन खोज्छ, तब तब जनताले उनीहरूलाई हैसियत देखाइदिएको इतिहास साक्षी छ ।
यी केही प्रतिनिधि घटनाहरू हुन् जसबाट नेपालली जनता र नेता दुबैले पाठ सिक्न जरुरी छ । जनताले सार्वभौम जनताको क्षमता बुझ्न जरुरी छ भने नेताले पनि जनताको यस प्रलयकारी शक्तिलाई बुझेर सच्चिन जरुरी छ । समयले जस्तोसुकै अपराधीलाई पनि एकपल्ट सच्चिने अवसर दिएको हुन्छ भनिन्छ । समयले दिएको त्यस अवसरलाई मनन् गरेर कुनै रत्नाकर डाकु ऋषि वाल्मीकि बनेर विश्वलाई रुपान्तरणको नमुना देखाइदिन पनि सक्छन् । समयको चापलाई चाल नपाउनेहरू भने हसिना र राजपाक्षे जसरी उखेलिएर फ्याँकिन पनि सक्छन् ।
समय सधैंभरि एकनासको रहँदैन । जनता निद्राबाट जागेका दिन भ्रष्टाचार र राज्य दोहनको गन्धले डङ्डङ्ती गन्हाएकाहरूको कुनै पनि चालले उनीहरूलाई बचाउन सक्ने छैन । झुटो बोलेर वा अनेक नाटक गरेर केही समयसम्म जनतालाई अल्मल्याउन सकिएला तर जनताको धैर्यताको बाँध टुटेका दिन आफ्नै मतदाताहरू हात–हातमा हतियार बोकेर उनीहरूको घर/अफिस घेर्न पुग्न सक्छन् । श्रीलङुका वा बङ्गलादेशको जस्तै विद्रोहको झिल्कोले डढेलोको रूप लिएपछि परिणाम् भयानक र दुखद् हुन सक्छ ।
२०३५ सालतिर पाकिस्तानमा पूर्वप्रधानमन्त्री भुट्टोलाई तत्कालीन सरकारले फाँसी दिँदा त्यस कार्यको विरोधमा जागेको नेपाली विद्यार्थीको आन्दोलनले पञ्चायती शासकलाई घुँडा टेकाएर २०३६ सालको जनमत सङ्ग्रहको घोषणा गर्न बाध्य गरायो । अहिलेको बंगलादेशको घटनाले पनि विद्यार्थी र युवा शक्तिलाई उद्वेलित नबनाउला भन्न सकिन्न । यदि त्यसो भयो भने धेरै भ्रष्ट नेताहरूले नेपालबाट भाग्नुपर्ने हुनसक्छ । हिजोआज टेलिभिजन हेर्दा पनि धेरै भ्रष्ट र निरङ्कुश नेताको मुटुले ढ्याङ्ग्रो ठोकिसकेको पनि हुन सक्छ । आन्दोलनको आगो फैलियो भने कुन दलको कति तिहाइ जनमत थियो भनेर चिन्दैन ।
अहिले सामाजिक सञ्जालमा बङ्गलादेशको घटनासँग तुलना गरेर नेपाली नेताहरूका नाममा आएका टिप्पणीहरू र अभिव्ययक्तहरूलाई हेर्ने हो भने पनि पुराना भनिएका नेताहरूको हैसियत छताछुल्ल भएर पोखिएको देखिन्छ । सत्तामा बसेका शासक दलहरूले देश र जनताका पक्षमा काम नगर्ने हो र मुठ्ठीभर व्यक्तिका पक्षमा मात्र मुलुकको स्रोत, साधन र शक्तिको दुरुपयोग गर्दै जाने हो भने कुनै पनि बेला नेपालमा पनि आन्दोलनको आगो नसल्केला भन्न सकिन्न । भ्रष्टाचारको चाङमा बसेर जनतालाई सुशासन र नैतिकताका पाठ पढाउने नेताहरूबाट नेपाली जनता वाक्क दिक्क भइसकेका छन् ।
नेकपा एमाले र नेपाली काङ्ग्रेसले गर्न चाहेको भए यो देशमा असम्भव केही पनि थिएन तर गरेनन् । उनीहरूले देशका लागि केही गर्न मात्र खोजेका थिए भने पनि माओवादी आन्दोलन हुने थिएन र माओवादी पार्टी जन्मिने पनि थिएन । जुन एजेण्डाको आधारमा माओवादी सत्तामा पुग्यो, उसले पनि एजेण्डामा टेकेर अलिकति मात्र पनि सुधारका राम्रा काम गरिदिएको भए एमाले र काङ्ग्रेसको पत्ता साफ भइसक्ने थियो ।
तर विधि, विधान र एजेण्डामा रहेर कसैले काम गरेनन् । न गर्न नै चाहे । नेताले सपना देखाउने काम गरे तर अनुभूति हुने खालको काम गर्न सकेनन् । परिणाम् स्वरूप देश झन झन गरिब र कमजोर बन्दै गयो, जसले जन आक्रोश बढाउँदै लग्यो । अहिले जनता आक्रोस, पीडा र असन्तोषको ज्वालामुखी जस्तै बनेर बसेका छन्, कतैबाट सानो आगोको झिल्को आयो भने पनि विष्फोटका लागि पर्याप्त हुन्छ ।
कर्महीन र निर्वीर्य नेपाली नेताहरू बङ्गलादेशमा हसिनाविरुद्ध जनता आगो भएर खनिएको देखेर भित्रभित्रै भयभीत भएर बसेका हुन सक्छन् । गलत काम गर्ने मान्छे आफ्नै छायासँग पनि डराइरहेको हुनसक्छ । यस डरले नेतृत्वलाई सही मार्गमा लाग्न प्रेरित गरे यो देशको हितमा हुने थियो । अन्यथा भोलिका दिन नेपालमा पनि जे पनि हुनसक्छ । मनसुनको लहर बङ्गलादेशतिरैबाट नेपाल आउने हो, यस पटक मनसुनसँगै मिसिएर आन्दोलनको राप र ताप पनि नआउला भन्न सकिन्न ।