नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।
जुवातास खेलिरहेको अवस्थामा एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-८ गौरिघाटबाट राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले जुवा खेलिरहेकोअवस्थामा कोशी प्रदेशका एमालेका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीसहित ११ जना रहेका छन् । पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई र टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार पुरुषोत्तम शर्मासहित ११ जना छन् ।
त्यसैगरी पक्राउ पर्ने अन्यमा उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो । शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ ।