सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।स्याङ्जा, चापाकोट नगरपालिका-१० बायोडाँडास्थित सडकमा बारीकुनाबाट चापाकोटतर्फ जाँदै गरेको लु.४ त २२१ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार पाल्पा रामपुर नगरपालिका-४ देविस्थान घर भई स्याङजा चापाकोट नगरपालिका-१० बोटेटार बस्ने २८ वर्षीय महेन्द्र दमाईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-४ मदनपुरस्थित सडकमा मदनपुरबाट शेरीतर्फ जाँदै गरेको साइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा साइकलयात्री सोही नगरपालिका-२ बस्ने ४८ वर्षीया राम कुमारी महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मध्यबिन्दु नगर अस्पताल चोरमारामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ बेलबास चोकस्थित सडकमा लु.१९ प ८८७५ नम्बरको मोटरसाइकल र लु.८५ प ३३१३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगरपालिका-१३ बस्ने २३ वर्षीय अंकित पाठकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यता रौतहट, गुजरा नगरपालिका-९ स्थित सडकमा परसर्वाबाट सिमराभवानिपुरतर्फ जाँदै गरेको ना.२८ प ७१५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ भवानीपुर बस्ने ३८ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हाईवे ट्रमा सेन्टर अस्पताल हुँदै एलएस न्यूरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार