नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) मा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ ।
प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटगरी उक्त निमन्त्रणा हस्तान्तरण गर्नुभएको हो ।
उक्त एसिडीमा नेपालससिहत ३५ मुलुक आबद्ध छन् । उक्त मञ्चको १९औँ मन्त्रिस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि एसिडीको सदस्य भएको हो ।
सो अवसरमा दुई देशका आपसीहित र सम्बन्धबारे छलफल भएको थियो । छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।