नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ ।
बझाङ र जाजरकोटमा पहिरोमा परी सातजनाको मृत्यु भएको छ भने छजनाको जीवितै उद्धार गरिएको छ । अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिनुभयो ।
गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उहाँले बताउनुभयो हो । उहाँले भन्नुभयो, “चारजनाको मृत्यु भएको र छजनाको उद्घार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं ।”
पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।
त्यस्तै जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।
उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताउनुभयो । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।