नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदौ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइतेको उद्धार गरिएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट मस्याङ्दी नदीमा खसेको थियो ।
दुर्घटना स्थलबाट १४ जनाको शव बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । बसमा भारतीय पर्यटक रहेका थिए ।घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल दमौलीमा पुर्याइएको छ ।
अहिले प्रहरी टोली घटनास्थलमा यात्रुको उद्धार गरिरहेको छ ।