नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदौ ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा प्युठान गौमुखी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका-९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ मण्डिखाटार बस्ने ३० वर्षीय ईश्वर प्रसाद ढकाल रहेका छन् ।
पक्राउ पर्नेमध्ये लाल बहादुरले एक जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र ईश्वर प्रसादले एक जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लाल बहादुरलाई काठमाडौं नयाँबसपार्कबाट र ईश्वर प्रसादलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।