नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदौ ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ मुक्टेनस्थित सडकमा मुक्टेनबाट धरानतर्फ जाँदै गरेको को.२ च ११०५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ३७ वर्षीय निर बहादुर सारूको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनाको वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सर्लाही, बरहथवा नगरपालिका-१० किसनपुरस्थित टिकुलीयाबाट बरहथवातर्फ जाँदै गरेको प्र.२-०३-०२० प ३२४५ नम्बरको मोटरसाइकले साइकललाई ठक्कर दिई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कविलासी नगरपालिका-४ हेमपुर बस्ने ४३ वर्षीय अरबिन्द यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार साइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-५ कोशी बाँधस्थित सडकमा स.२ प ७२९६ नम्बरको मोटरसाइकल र को.३४ प ५४४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स.२ प ७२९६ नम्बरको मोटरसाइकल चालक राजबिराज नगरपालिका-१५ बस्ने ५२ वर्षीय बिनोद कुमार साहको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका को.३४ प ५४४९ नम्बरको मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि अस्पतालतर्फ लगिएको छ । उता झापा, दमक नगरपालिका-९ चियाबगानस्थित सडकमा उर्लाबारीबाट दमकतर्फ जाँदै गरेको प्रदेश १-०२०४१ प ५०८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगर नोबेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।