नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदौ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । गुल्मी, सत्यवती गाउँपालिका-६ जोहाङ बस्ने ६७ वर्षीय शंकर प्रसाद गौतम सोही गाउँपालिका चौडीलास्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बारा, जितपुर सिमरा उपमहानगरपालिका-८ गढीमाई मन्दिर परिसर भित्र रहेको चौतारामा हाल वतन नखुलेकी ५५ वर्षीया कोमल लामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै बाँके, डुडुवा गाउँपालिका-५ रंगीतालस्थित सडक छेउमा सोही ठाउँ बस्ने ५५ वर्षीय लाल बहादुर थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उता काभ्रे, नमोबुद्ध नगरपालिका-६ बस्ने रामशरण न्यौपानेको छोरी १३ वर्षीया खुसी न्यौपाने सोही ठाउँस्थित दाप्चा खोलाको दहमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै बर्दिया, बारबर्दिया नगरपालिका-९ कतर्निया बस्ने सिपाही चौधरीकी छोरी ३ वर्षीया प्रिन्सा चौधरी सोही ठाउँस्थित बबई सिँचाइ नहरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
बिहीबार साँझ बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कतर्नियाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यसैगरी धादिङ, नेत्रावती डबजोङ गाउँपालिका-१ बस्ने ५१ वर्षीय हरि बहादुर अधिकारी आफ्नै घर नजिकैको सडकमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोजस्थित सडक छेउमा सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन सुनार शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित आनन्द होटल पछाडि हाल वतन नखुलेका अन्दाजी ५० वर्षीय गोपाल पाण्डे बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।