नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारी एवं विचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको बताउनुभएको छ। आज (आइतबार) बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रुपमा पार्टीको सङ्गठन विस्तार, सुदृढीकरण र पुनःनिर्माणमा गर्न पार्टीलाई अवसर प्राप्त भएको छ, पार्टी सुदृढीकरण अभियानमा साथ दिन सबैसँग अनुरोध गर्दछु ।” त्यस्तै अध्यक्ष प्रचण्डले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको भन्दै संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गर्नुभयो ।
उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट गर्नुभयो ।
उहाँले बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई पनि नरहेको स्पष्ट गर्दै मुलुक र जनता विरोधी काम नगर्न सरकारलाई खबरदारी गर्नुभयो ।