नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट आठ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-२७ राप्ती नदीको टाईगरटप घाटमा सोही महानगरपालिका-२५ चितई बस्ने ४३ वर्षीय संजीव कुमार चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
भरतपुर महानगरपालिका-२७ जमुनाघाटस्थित राप्ती खोलाले शुक्रबार दिउँसो बगाएर संजीव कुमार र भरतपुर महानगरपालिका-२७ पर्साढाप बस्ने ४५ वर्षीय शुक बहादुर परियार वेपत्ता भएको घटनामा इलाका प्रहरी कार्यालय दिव्यनगर समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा संजीव कुमारको शव फेला परेको हो । शुक बहादुरको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-६ देवनगर बस्ने ६१ वर्षीय चन्द्र प्रसाद न्यौपाने आफ्नै शौचालयभित्र आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दाङ, राप्ती गाउँपालिका-५ पहरुवा बस्ने ५२ वर्षीया स्यामली चौधरी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै गोरखा, गोरखा नगरपालिका-४ पुतली बगैंचा कुवाँपानी बस्ने ६५ वर्षीय सिताराम परियार सोही नगरपालिका फिनामबाट पुतली बगैचा जाने सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता काठमाडौं महानगरपालिका-३१ सुकुमवासी १ नम्बर पानी टयाङकी नजिकै बाग्मती खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका-११ घर भई काठमाडौं नरदेवी बस्ने ४९ वर्षीय केदार बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-२६ रानीबारी कुमारी टोल डेरा गरी बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका-८ घर भएका ५० वर्षीयको लोकेन्द्र महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ भानुपथस्थित घरको आँगनमा सोही नगरपालिका-९ गोलीगढ बस्ने ५० वर्षीय धर्मेन्द्र सिंह शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी दोलखा, भिमेश्वर नगरपालिका-७ चर्नावती सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १४ वर्षीय बालक शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।