साफ महिला फुटबल : नेपाल र भुटानले गोलरहित बराबरी खेले

राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक-एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो ।

खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन् । समूह ‘बी’अन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो । यस नतिजासँगै समूह ‘बी’बाट श्रीलङ्का तीन अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र भुटान एक/एक अङ्कका साथ दोस्रो स्थानमा छन् ।

सम्बन्धित समाचार