सवारी दुर्घटनामा छ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । बैतडी, दोगडा केदार गाउँपालिका-७ खोचलेकस्थित सडकमा सु.प. प्र ०१-००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार दोगडा केदार गाउँपालिका-२ बस्ने ४५ वर्षीया बसन्ती जोशीको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१६ फुर्तिचोकमा फुर्तिचोकबाट कार्कीचोकतर्फजाँदै गरेको बा.प्र-०३००४ प ५१९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीया बेल कुमारी गैरेको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै बाँके, राप्तिसोनारी गाउँपालिका-१ सौरीस्थित सडकमा कैलालीबाट जनकपुरतर्फ जाँदै गरेको प्र.०२-००२ प १३७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक कैलाली लमकीचुहा नगरपालिका-७ खरैला बस्ने २४ वर्षीय ललित भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यता नवलपरासी पूर्व, कावासोती नगरपालिका-१ बालुवाडाँडास्थित सडकमा बुलिङटारबाट कावासोतीतर्फ जाँदै गरेको बा.प्र.०७-००१ ज ००२० नम्बरको बोलेरो पिकअप गाडी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बुलिङटार गाउँपालिका-२ बस्ने २० वर्षीया पवित्रा मर्साङ्गीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३३ वर्षीय पुरूषको नवलपुर अस्पताल कावासोतीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार मध्ये १२ जनाको मध्यबिन्दु जिल्ला अस्पताल डण्डा र नवलपुर अस्पतालमा उपचार भइरहेको छ भने १८ जनालाई थप उपचारको लागि भरतपुर रिफर गरिएको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता झापा, कमल गाउँपालिका-५ स्थित सडकमा प्रदेश.१-०१-००१ ख ३४३५ नम्बरको बसले को.१६ प ५३२२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका-७ बस्ने ५५ वर्षीय पदम मुकारूम राईको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार