नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कार्तिक ।
भारतलाई ट्राइब्रेकरमा पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको निकै तानवपूर्ण खेलमा नेपालले भारतविरुद्ध ट्राइब्रेकरमा ४-२ को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टीमा भारतका लागि मनिषा, पुरुषेत्तम श्रीभाइकरले गोल गर्दा आशालतादेवीको प्रहार पोलमा लागेर फर्किएको थियो भने सारोखाइबमको प्रहार नेपालकी गोलकिपर अन्जना रानामगरले बचाएकी थिइन् । नेपालका लागि सावित्रा भण्डारी, गिता राना, सवीता रानमगर र अमिशा कार्कीले गोल गरे ।
त्यसअघि खेलको ७२औं मिनेटमा संगीता बाँसफोरेको गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । यस्तै ५२ औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेंलो कार्डपछि रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।
त्यस लगत्तै प्रीति राईले गोल गरेपनि उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि खेलले तनावकोस्थिती सामना गर्नु परेको थियो । करिब १ घन्टा १५ मिनेट रोकिएपछि खेल सुरु भएको थियो । खेल १० मिनेट घटाइएको थियो र खेल सुरु भएलगत्तै नेपालकी सावित्राले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । त्यसपछि दुवै टोलीबाट गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
नेपालले उपाधिका लागि बंगलादेशको सामना गर्नेछ । यसअघि आइतबारै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानविरुद्ध ७-१ को फराकिलो जित निकाल्दै फाइनल पुगेको थियो ।