सवारी दुर्घटनामा छ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । डडेल्धुरा, पर्शुराम नगरपालिका-६ छेलास्थित सडकमा बा.०२-०२२ प २१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय भुपेन्द्र भट्टको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जोगबुढा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ । त्यस्तै संखुवासभा, मकालु गाउँपालिका-५ फाक्सिन्दा दोभानस्थित सडकमा एचपि ११- ४९३३ नम्बरको टिफर अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा चालक भारत बस्ने ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारूक महमदको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार १ जनालाई थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा रिफर गरिएको छ भने १ जनाको जेपि एसोसियसको मेडिकलमा उपचार भइरहेको छ ।

यस्तै दाङ, तुलसिपुर उपमहानगरपालिका-४ रक्षाचौरस्थित सडकमा दाङबाट सल्यानतर्फ जाँदै गरेको रा.३ प ७१८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-३ बस्ने ५० वर्षीय द्रोण थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति प्रादेशिक अस्पताल तुलसिपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो । यता धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१० तिङ्ग्राङ्खानीस्थित सडकमा बा.८ ख २१५२ नम्बरको ट्रकले बा.८१ प ८२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक त्रिपुरासुन्दरी गाउँपालिका-५ बस्ने २३ वर्षीय प्रदिप भण्डारीको मृत्यु भएको छ ।

बुधबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता कैलाली, गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित सडकमा अछामबाट टिकापुरतर्फ जाँदै गरेको ना.६ ख ४५९१ नम्बरको बसबाट लडेर बसको सह-चालक अछाम चौरपाटी गाउँपालिका-१ बस्ने २५ वर्षीय ज्ञानु साउँदको बिहीबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढी हुँदै माया मेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार