नवकान्तिपुर संवाददाता
मलङ्गवा (सर्लाही), १७ कात्तिक l
सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ ।
बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गए राति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।
उहाँले आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको बताउनुभयो । आगलागीबाट के कति क्षति भयो भन्ने आँकल भइरहेको बताइएको छ ।
किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको प्रनाउ थापाले जानकारी दिनुभयो । गएराति सुरु भएको आगलागी आज बिहान मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मी, स्थानीय र हरिवन नगरपालिकाको बारुणयन्त्रका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।
मैनबत्तीबाट आगलागी
यसैबीच धनकौल गाउँपालिका–४ मा लक्ष्मीपूजा गरिएको मैनबत्तीबाट आगलागी हुँदा स्थानीय जितु रायको काठले बनेको जलेर क्षति पुगेको छ ।
आगलागीबाट कोठाभित्र रहेको दराज, टिभी, कपडा, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।