नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ कार्तिक ।
उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी दिँदै अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन् ।
जापान मौसम विज्ञान एजेन्सीले न्यानो, आर्द्र हावाले पश्चिमी जापानमा गर्जनसहितको भारी वर्षा गराइरहेको छ बताएकोछ । एजेन्सीले यसको आंशिक कारण कोङ–रे हो भनेको छ । यो आँधीबाट उष्णकटिबन्धीय न्यून चापीय प्रणालीमा स्तरवृद्धि भएको थियो ।
मात्सुयामा शहरका एक अधिकारीका अनुसार ‘शहरले उच्चतम स्तरको चेतावनी जारी गर्दै यसका १० जिल्लाका एक लाख ८९ हजार पाँच सय ५२ बासिन्दालाई स्थानान्तरण गर्न र तत्काल सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।’
स्थानान्तरण अनिवार्य नभए पनि जापानको उच्चतम स्तरको चेतावनी सामान्यतया कुनै प्रकारको विपत्ति पहिले नै घटिसकेको अत्यन्त सम्भावना हुँदा जारी गरिन्छ।
मौसमविद्हरूले शनिबार पश्चिमी जापान र आइतबार पूर्वी जापानमा पहिरो र बाढीले प्रभाव पार्न सक्ने चेतावनी दिएका छन् ।
वर्षाका कारण टोक्यो र दक्षिणी फुकुओका क्षेत्रबीचको शिनकानसेन बुलेट रेल बिहान छोटो समयका लागि रोकिएको थियो र पछि ढिला तालिकामा पुनः सञ्चालन भएको थियो ।
कोङ–रे बिहीबार ताइवानमा ठोक्किएको थियो । यो दशकौँयताकै ताइवानमा आएको सबैभन्दा ठूलो आँधीमध्ये एक थियो। यसले कम्तीमा दुई जनाको ज्यान लियो र दशौँ हजार घरधुरीमा बिजुली आपूर्ति अवरुद्ध पार्यो ।
वैज्ञानिकहरूका अनुसार मानव–प्रेरित जलवायु परिवर्तनले भारी वर्षाले पार्ने जोखिमलाई बढाइरहेको छ ।