नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कार्तिक ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित सडकमा बा.प्र०२-०१४ प २७२६ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै अर्घाखाँची, भुमिकास्थान नगरपालिका-५ जयठाटीमा ना.३ ख २४७१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बाटोमा भैलो खेलिरहेका भुमिकास्थान नगरपालिका-६ फुलबारी बस्ने २२ वर्षीया तारा श्रेष्ठ र सोही नगरपालिका-२ ढाकावाँङ बस्ने ७० वर्षीया रूनी खनालको सोमबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २१ जनाको सोही अस्पतालमा र ९ जनाको चौराहा अस्पताल बुटवल रूपन्देहीमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै चितवन, भरतपुर महानगरपालिका-१ रामनगरस्थित सडकमा बा.३ ख ९०७६ नम्बरको बस र ना.५९ प १७८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१४ बस्ने ५४ वर्षीय धन प्रसाद भट्टको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता मकवानपुर, बागमती गाउँपालिका-४ हरामिटोलस्थित सडकमा हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र०३-००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री बागमती गाउँपालिका-४ बस्ने ४८ वर्षीया गंगा पहरीको सोमबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिएमसि चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता रोल्पा, सुनछहरी गाउँपालिका-५ थनवाङस्थित सडकमा रा.६ प ४०५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-१ झम्की बस्ने २८ वर्षीया खुनो बिकको घटनास्थलमै मृत्यु भएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी मोरङ, रतुवामाई नगरपालिका-१० पबित्र चोकस्थित सडकमा ना.४ ख ०१३ नम्बरको बस र प्र.१-०१०-१४ प २४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक झापा कमल गाउँपालिका-५ बस्ने २८ वर्षीय सन्देश गौतमको मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएको उनको आर्या न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङ, धनपालथान गाउँपालिका-२ कुश्मास्थित सडकमा ललियाबाट नोचातर्फ जाँदै गरेको प्र.१-०२-०३४ प ३१६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया चन्द्रिका ऋषिदेवको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-८ बिसनपुरस्थित सडकमा बयल गाडाले च्यापिएर सडक छेउमा खेल्दै गरेका सोही ठाउँ बस्ने भधई कोहारकी छोरी २ वर्षीया मुस्कान कोहारको सोमबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।