नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ कार्तिक ।
युएईलाई पराजित गर्दै नेपाल आइसिसी महिला यु-१९ टोली सन् २०२५ मा मलेसियामा हुने यु–१९ विश्वकपमा छनोट छनोट भएको छ । बुधबार सम्पन्न भएको खेलमा युएईलाई ८ विकेटले पराजित गर्दैनेपाल यु-१९ ट्वान्टी-२० विश्वकपमा छनोट भएको हो ।
युएईको द सेभेन रंगशालामा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८३ रनको बनाएको थियो । युएईका लागि समाइरा धरनिधर्काले ३१ रन बनाइन् भने रिनिथा रजितथले २० रन जोड्दा लाभन्या केनी र इन्दुजा नन्दाकुमारले समान १०-१० रन बनाए ।
नेपालका लागि करिस्मा गुरुङले चार विकेट लिइन् भने रिया शर्मा र सीमा केसीले समान दुई-दुई विकेट लिँदा रचनाकुमारी चौधरीको भागमा एक विकेट रह्यो ।
युएईले दिएको ८४ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको नेपालले १४ ओभरमा २ विकेटको गुमाउँदै पूरा गर्यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् भने कप्तान पूजा महतोले १८ बलमा २१ रन जोडिन् । त्यस्तै साबित्री धामीले १२ रन बनाइन् । युएईका लागि मेहक ठाकुरले दुई विकेट लिइन् ।
जितसँगै नेपालले ६ खेलमा १० अंक जोड्यो भने युएईको पनि समान १० अंक नै भए पनि नेपाल रनरेटमा अघि रहँदै यु-१९ महिला टी२० विश्वकपमा छनोट भएको हो । नेपालले अब आगामी वर्ष मलेसियामा हुने आइसिसी यु-१९ महिला टी२० विश्वकप खेल्ने छ ।