नवकान्तिपुर संवाददाता
काठमाडौँ, २ मङ्सिर l
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उहाँको आज दिउँसो १:३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिनुभयो ।
वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो ।
विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उहाँ २०४८ देखि २०५१ सम्म सभामुख हुनुभएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि पर्नुभएको थियो ।
उहाँका श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
ढुङ्गानाको भोलि अन्त्येष्टि गरिने स्वकीय शर्माले जानकारी दिनुभयो ।
ढुङ्गानाको निधनप्रति राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा शोक व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहनुभएका परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।