नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ मंसिर ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३ बाँसवारीस्थित सडकमा बा.प्र-०२-०५० प ८३१२ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा चालक बुढानिलकण्ठ नगरपालिका देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई बा.प्र.०२-०४४-१८७८ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिई दुर्घटना भएको थियो ।
साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जना र १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।बा.प्र.०२-०४४-१८७८ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सर्लाही, बलरा नगरपालिका-९ अचलगढस्थित खेतमा अन टेष्ट लेखिएको ट्याक्टरले च्यापिएर सोही ठाउँ बस्ने ४० वर्षीय रूसतम साहको मंगलबार बिहान मृत्यु भएको छ । ट्याक्टरले खेत जोती घर फर्किने क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिन जाँदा च्यापिएर गम्भीर
यस्तै सिराहा, बरियारपट्टी गाउँपालिका-३ बलुवा टोलस्थित सडकमा ज.१ त ३६०२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बलु यादवको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिराहामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
उता सिन्धुली, मरिण गाउँपालिका-७ देउजोस्थित सडकमा बा ७ च ७५५४ नम्बरको कार र बा.प्र ०३-००१ च १६२३ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई उक्त बोलेरो पल्टिएर लाग्दा सडक पेटीमा बसिरहेकी पैदलयात्री मरिण गाउँपालिका-७ बस्ने ७६ वर्षीया बुद्धलक्ष्मी श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । कार र बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ पश्चिम बस स्ट्याण्डस्थित सडकमा प्र.१-०२-०४० प ६०२५ नम्बरको मोटरसाइकललाई एनएल-०१ एडि ५५११ नम्बरको लहरीले सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका-११ कुबिदा टोल बस्ने २० वर्षीय टार्जन राईको मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।